हेटौंडा – बिगत २२ बर्षदेखि मकवानपुरमा रहेर बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्पेनिस नागरिक होसे मारिया दियाजले लेखेको पुस्तक शान्ति मेरो जीवनपथको ज्योति बिमोचन गरिएको छ । बागमती प्रदेशका पूर्बमुख्यमन्त्री डोरमणि पौडेलले पुस्तक लोकार्पण गर्दै आफ्नै वडामा एक जना बिदेशी नागरिकले यति राम्रो काम गरिरहेको आजै थाहा पाएको बताए ।
रुहेल सीआरसीकी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा सिबिन मकवानपुर बाल हेल्पलाइनका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली, मामाघर नेपालका संस्थापक अर्पण पराजुली, बालकल्याण नेपालका पूर्बउपाध्यक्ष प्रद्युम्न उपाध्यायलगायतले होसेले बालबालिकाको क्षेत्रमा गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।
बेचबिखनको शिकार बनेर भारतीय बेश्यालयमा पुगेकी शान्तिको जीवनमा आधारित अनुभवहरु पुस्तकमा कलात्मक रुपमा समेट्ने प्रयास गरिएको छ । होसेको सहयोगमा हेटौंडा–११ सरस्वतीमा स्थापना गरिएको रुहेल सीआरसीमा रहेका असहाय बालिकाहरुको बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । मकवानपुरका बिभिन्न गैससमा क्रियाशील ब्यक्तिहरु पुस्तक बिमोचनमा सहभागी भएका थिए ।
होसेले सन २०१६ मा स्पेनिस भाषामा लेखेको पुस्तकलाई नेपालीमा उल्था गरी पुन प्रकाशन गरिएको हो । सुभाषचन्द्र कट्टेलको अनुवाद रहेको २ सय ८ पृष्ठको यो पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ राखिएको छ । पुस्तक बिक्रीबाट प्राप्त सबै रकम बालबालिकाकै क्षेत्रमा खर्चने योजना रहेको रुहेल सीआरसीका कार्यक्रम संयोजक केदार आचार्यले जानकारी दिए ।