प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको मनहरीमा बाघपछि हात्तीको आतंक

२०८० मंसिर २८, बिहीबार १२:१४ बजे

हेटौंडा – चितवन राष्ट्रिय निकुञ्जको बाघले मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको पीडादायी घटना ताजै छ । त्यो सेलाउन नपाउँदै फेरी हात्तीको आतंक सुरु भएको छ । विगत दुई सातादेखि मनहरी गाउँपालिका वडा नं.६,७,८ र ९ क्षेत्रमा निकुञ्जबाट आएको यमगज नामक जंगली हात्तीले वितण्डा मच्चाईरहेको स्थानीयहरुले बताएका छन् ।

उक्त हात्तीले स्थानीयको बासस्थान(घर) घत्काउने र खेतबारीमा लगाएका अन्तपात तथा घरमै भण्डारण गरि राखेको धानमकै क्षति पुर्याएको छ । हात्तीको आक्रमणबाट ज्यान जाने डरले रातको समयमा ढुक्क भएर सुत्न समेत पाएका छैन ।

गएको सोमबार मनहरी गाउँपालिका–८ चिसापानीमा राती १० बजे १५ मिनेटमा स्थानीय जमुना कुमारी अधिकारीको घरमा हात्तीले आक्रमण गरेको थियो । काठको बार, टिनले छाएको दुईकोठे घरमा क्षति पुगेको छ । त्यति बेला हात्तीलाई स्थानीयको सहयोगमा प्रहरीले जंगलतर्फ लखेटे।

तर त्यसको भोली पल्टै राती मनहरीकै वडा नं.७ रमौलीमा स्थानीय चेपाङ सिंह तामाङको घरमा हात्तीले तामाङको भान्सा र घर भत्काएर घरमा रहेको ४ बोरा धान पनि खाईदियो । हात्तीको आक्रमणबाट ज्यान जोगाउन भाग्ने क्रममा चेपाङ सिंहका श्रीमती र छोरा सामान्य घाइते हुन पुगेका छन् ।

‘हात्तीले पहिला भान्सा भत्कायो, त्यसपछि घर, चोटामा राखेको चार बोरा धान खेतमा लगेर खाईदियो,’ तामाङले थपे, ‘त्यो धान सकेपछि फेरी घरमा आयो, ज्यान जोगाउन भाग्दा छोराको हात र श्रीमतीको खुट्टामा चोट बोक्न पुगे ।’

निकुञ्जबाट मानव बस्तीमा आहाराका लागि पसेका हात्तीले खेतबारीमा अन्नपात नभेटेपछि घरमा आक्रमण गरेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्ज र जनप्रतिनिधिसहितको टोली क्षतिको बिवरण संकलन गरिसकेको बताईएको छ । गत बर्ष हात्तीकै आक्रमणमा परी मकवानपुरमा दुई जनाको ज्यान गएको थियो

सांसद बर्तौलाको निरीक्षण
सोही क्षेत्रका सांसद महेश कुमार बर्तौलाले हात्ती आंतकबाट पीडितको क्षतिग्रस्त घरको निरीक्षण गरेका छन् भने पीडित परिवारसंग पनि भेटेका छन् । पीडित परिवारसंगको कुराकानीपछि सांसद बर्तौलाले पीडितहरुलाई  क्षतिपुर्ति दिलाउन निकुञ्जसंग पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । निकुञ्जले हात्तीलाई नियन्त्रणमा लिएर लैजाने गरी प्रक्रिया अगाडी बढाएको जानकारी दिएको समेत सुनाए ।