हेटौंडा – मकवानपुरको भीमफेदी गाँउपालिका वडा नंबर ८ दोभान स्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ भने दुइ जना सेना घाइते भएका छन् ।
मृत्यु हुनेमा क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नं १ घर भएका लेसनायक २९ वर्षिय पदम बहादुर दियाललाई करेन्ट लागी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।
उनका अनुसार वेस क्याम्पमा डिउटिमा रहेको समयमा संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा दियालको मृत्यु भएको हो ।
यसैगरी करेन्ट लागेर घाईते भएका डँडेलधुरा अमरगढि नगरपालिका वडा नम्बर–२ घर भएका लेसनायक २९ को विनोद केसी र पाल्पा रामपुर नगरपालिका वडा नम्बर–६ घर भएका नेपाली सेनाका सिपाइ २१ वर्षिय युवराज कुमाललाई उपचारको लागी तत्काल हेलिकप्टरद्धारा आर्मी अस्पताल छाउनी पठाईएको डिएसपी अर्यालले बताए ।