प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पार्टीको जिम्मेवारीबाट अलग हुने निवर्तमान अध्यक्ष लम्सालको घोषणा

२०७९ जेठ ८, आईतबार ०६:४४ बजे

हेटौंडा – नेकपा एमालेको गढ जिल्ला मध्य मकवानपुर जिल्ला पनि हो । हालै सम्पन्न स्थानीय निर्वाचनको सार्वजनिक मतपरिणामले त्यो “एमालेको गढ” थियो भन्ने अवस्थामा पुगेको छ ।

शुक्रबार सार्बजनिक मतपरिणाम अनुसार पाँच दलिय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसले सबैभन्दा बढी ५, दोस्रो नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लाको १० पालिका मध्य ६ पालिकाको प्रमुख, ८ उपप्रमुख र ५१ वडा जितेको एमाले २ पालिका प्रमुख, १ उपप्रमुख र ३३ वटा वडामा खुम्चिन पुगेको छ । यति मत्र होइन, जिल्लामा बहुमत पनि गुमाएको छ ।

यस नतिजालाई लिएर एमालेका शुभचिन्तक तथा पार्टीका कार्यकर्ता ब्यक्त गरिरहेका छन् ।  चुनाव अघि हुनुपर्ने पार्टी गतिविधि र मतपरिणामको बिषयलाई गम्भीर नलिएरको भन्दै नेकपा एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालले असन्तुष्ट व्यक्त गर्दै पार्टीको सम्पुर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । लम्सालले आफ्नो फेसबुकमार्फत आफ्नो पालिकामा समेत जिताउन नसकेको भन्दै सम्पन्न चुनावमा ब्यहोरेको हारको नैतिक जिम्मेवारी लिदै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन ।

लम्सालको आफ्नो फेसबुक वालमा जे देखियो । 

पार्टी भित्र नेताहरुबाट पटकपटक धोका अपमान छलकपट र गुटबन्दीले गर्दा अति नै चित्त दुखेर राजनीति प्रतिनै बितृष्णा लागेर भारी मन बनाई बसीरहेको अवस्थामा स्थानीय तहको निर्वाचन आयो नेतृत्वले बेवास्था गरेतापनि आफूले दुख गरेर निर्माण गरेको पार्टी एमाले भएको हुँदा यसको मायाले र स्थानीय तहका साथीहरुको अनुरोधमा स्थानीय निर्वाचनमा मज्जाले खुल्ला दिलका साथ प्रचार प्रसार अभियानमा सहभागी भैयो तर वडामा मात्र जितियो पालिकामा विजयी गराउन सकिएन अति नै दुख लागेको छ तर जे भएपनि समयमै निर्वाचन सम्पन्न भयो। निर्वाचनमा बिजयी हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ।

पार्टीमा अहिलेको परिणामको बस्तुनिष्ठ समिक्षा मूल्यांकन र आत्मा समिक्षा होला जस्तो लाग्दैन गठवन्धनको कारण देखाउन सकिन्छ धाँधली भएको भन्दै बक्तब्य आउन सक्छ अन्तरघात भयो भन्न सकिन्छ तर यी मात्र कारणले यो परिणाम आएको होइन मुख्य कारण हामी भित्र नै रहेको छ पार्टी नेतृत्व देखि तलसम्म नै घमण्ड दम्भ अहंकार अरूलाई देख्दै नदेख्ने सबै पार्टीलाई एउटै डालोमा राखेर व्यबहार गर्ने नेतृत्वको राजसी जिवनशैली तथा केही नेता हरुको तुच्छ एंव अपाच्य बोली व्यबहार पार्टी भित्र फरक बिचार सुन्नै नसक्ने पार्टीमा असल बैचारिक कार्यकर्ता निर्माण गर्नुभन्दा आफ्ना मुन्सीका झुण्डहरु बनाउने गल्ति कमजोरी स्वीकार गर्नै नसक्ने पार्टी संचालन र नेतृत्व निर्माणमा बिधान पद्दतिको उल्लंघन अधिवेशनमा कार्यकर्ताको जनवादी अधिकार नभैकन नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने टिकट बितरण कार्यबिधिमा नभई नेताको निकट र चाहनामा दिने पार्टी बिभाजन भएको छ फेरि नयाँ गुटबन्दी सुरु गर्ने लगायतका कारण चाही मुख्य कारण हुन।

मकवानपुर जिल्ला लामो समयदेखि एमालेको बर्चस्व कायम भएको ठाउँ हो अहिले आएर गर्लामगुर्लुम ढल्नुमा यो जिल्लामा पनि माथिका कारण सहित जिल्ला तहमा थप नैतिक जिम्मेवारी लिनुपर्ने बिषयहरु रहेका छन ति मुख्यगरी निम्न बमोजिम छन ।

त्यस्तै लम्सालले सामजिक सञ्जालमा पाँच बुँदे कारण उल्लेख समेत गरेका छन् । 

लम्सालको पाँच बुँदे धारणा

१. विगत २०४८ सालदेखि अहिलेसम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकीय क्षेत्रमा निश्चित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्नसक्ने नयाँलाई आउनै नदिने, अवसरहरू हस्तान्तरण गर्नैपरे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने, त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

२. हुर्मत लिएका सिपाहीले युद्ध जित्दैन भनेझैं पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी विधान पद्दतिविपरीत प्रतिनिधिहरुको अधिकारलाई पूर्णरूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भयो । जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको छ, मनोबल गिराइयो, कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका, मनोबल गिराइएको र गुटबन्दीमा विभाजित गराइएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।

३. पार्टीको तर्फबाट उम्मेदवारी तय गर्न बनाइएको मापदण्ड र कार्यविधिभन्दा केही निश्चित नेताले गुटको आधारमा र अधिवेशनमा प्रभाव पार्न अग्रिम आश्वासन दिएकालाई प्राथमिकता दिइ टिकट वितरण गरेको कारण कार्यकर्ताले उम्मेदवारीको अपनत्व गर्ने अवस्था नभएको देखियो ।

४. प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री र जिल्ला प्रमुखहरुले मकवानपुर जिल्लामा धेरै बजेट वितरण गरेको भनिएको हुँदा वितरण गरेको बजेट पार्टीको समन्वयनमा भन्दा व्यक्तिगत आधारमा भएकोले समुदायले महसुस नगरेकोले अपनत्व गरेन। त्यसै गरी पार्टीको जानकारीमा नभइ व्यक्तिगत आधारमा विवादास्पद कमजोर कार्य क्षमता भएकालाई राजनैतिक नियुक्ति र राजकीय सेवामा राखेकोले कार्य सम्पादन कमी हुनुका साथै विवादित भएको हुँदा कार्यकर्ता र जनतामा नकारात्मक असर पर्न गयो ।

५. तलका कमिटीगत सुझावलाई मनन् गरी कार्य गर्नुभन्दा पर्यटक नेताले सेल्फी फोटो खिचेर फेसबुकमा हालेको रिपोर्टलाई आधार मान्दै माथिबाट निर्देशन मात्र जारी गर्ने, असन्तुष्ट कार्यकर्तालाई चित्त बुझाएर परिचालन नगरी बेवास्ता गरी खल्तीको गुमाउँदै भुइँको टिप्ने कार्यशैली अपनाइयो।

माथिका यी घटनाहरू लाई आधार मानेर त्यससँग जोडिएका वर्तमान जिल्ला नेतृत्व र माथिल्लो नेतृत्वले जिम्मेवारी लिइ पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । साथै पूर्व जिल्ला नेतृत्व र पूर्व केन्द्रीय सदस्यले पनि जिम्मेवारी लिनुपर्छ । हिजो गरेको कमीकमजोरी, गुटबन्दी स्वीकार गर्दै अब जिल्लाको पार्टी काममा अनावश्यक गुटगत हस्तक्षेप बन्द गर्नुपर्दछ।

पार्टीलाई पुनःव्यवस्थित गर्नका लागि मेरो सुझावसम्म हो, स्वीकार गर्ने–नगर्ने नैतिक जिम्मेवारी लिने नलिने नेतृत्वको जिम्मा लगाउँदै म पनि जिल्ला नेतृत्वमा लामो समयदेखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउनु नसकेकोले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।