हेटौंडा – भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार’वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्तीमार्फत एक लाख रुपैयाँ राशिको अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार गायिका वरिष्ठ गायक तथा सङ्गीतकार प्रधानलाई प्रदान गरिने जानकारी दिएको हो । नेपालको कला, संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक तथा सङ्गीतकार प्रधानला पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताए ।
करिब पाँच दशकदेखि निरन्तर नेपाली कलासंगीत क्षेत्रमा क्रियाशील प्रधानले हालसम्म ४ सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।वाल्यकालदेखि नै संगीत,गायन, नृत्य, नाटकमा अभिरुचि भएका प्रधानले २०२७ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । उनले स्वर परीक्षा पास गरेको एक बर्षपछि २०२८ सालमा आफ्नै संगीतमा “मलाई त मेरै ढम्फूको ताल नै साह्रै नै मनपर्छ..”बोलको गीत रेकर्ड गरेका थिए ।

वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक किरण प्रधान
विं.सं.२०१० सालमा जन्मिएका प्रधानको ७ वटा गीति एल्वम समेत प्रकाशित छन् । भुल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर...,पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदेउ..., पाखा पर्वतले गुञ्जाइरहून्..., छातीमा मेरो यो छोटो भोटो भञ्ज्याङ्गको डिलमा बसी...,अभागी आमा कुन देशमा के सोचें मैले के भयो अहिले..., विपना नभई बाँचिदिने मभित्रका मेरा सपना..., रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो... प्रधानका चर्चित गीतका केही फाँकी हुन् ।
त्यस्तै प्रधानले विं.सं. २०३८ सालमा नेपालमै पहिलो पटक ‘प्रयास’ नामक भिडियो चलचित्र निर्माण गरेका थिए । त्यसपछि नेपाल टेलिभिजनको स्थापना वर्ष २०४२ सालमा ने.टे.का निम्ति टेलिफिल्म “जन्म पात्रो” र “हजूरबाको कथा” निर्माण गरेका थिए । उनले उक्त भिडियो तथा टेलिफिल्मको कथा, सम्वाद, संगीत, गीत, गायन, निर्देशन गर्नुको साथै अभिनय समेत गरेका थिए ।

वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक किरण प्रधान
विं.सं. २०४६ सालमा यूरोपमा छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र “कस्तूरी” मा पनि प्रधानकै कथा, सम्वाद, संगीत, गीत, गायन, अभिनय र निर्देशन रहेको थियो । उनका नेपाली कथानक चलचित्रहरुः अर्को जन्म, बदलिदो आकाश, भाग्य रेखा, सझना, ममता, माया पिरती, झोडा, कस्तूरी, राँको, मनकामना, आदि हुन् ।
त्यस्तै नेपाली भिडियो चलचित्रहरुः प्रयास,कर्तब्य, गोधूली, प्रतिज्ञा, आजका युवा, अधिकार हुन् । प्रधानले संगीत जान्न, बुझन र सिक्नहरुका लागि भनेर व ‘ससंगीत’ नामक पुस्तक पनि प्रकाशन गरेका छन् ।
प्रधान बुवा जगत नारायण प्रधान र आमा लक्ष्मी प्रधानको कोखबाट दार्जलिङ्गमा जन्मिएका थिए । उनका बाबु जगतले काठमाडौं बालाजुमा होली गार्डेन इङ्गलिस स्कुल सञ्चालन गर्थे । विं.सं.२०४७ मा बुवाको निधन भएपछि विद्यालय संचालन गर्नु पर्ने बाध्यताको कारण सांगीतिक यात्रामा धक्का पुगेको थियो ।

उक्त अन्तरराष्ट्रिय सङ्गीत पुरस्कार हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट प्रतिष्ठानको व्यवस्थापनमा २०६४ सालदेखि हालसम्म १३ जनालाई समर्पण गरिएको छ ।
प्रतिष्ठानले पहिलो पुरस्कार २०६४ मा नेपाली संगीतका नक्षत्र अम्बर गुरुङ, २०६५ मा प्रसिद्ध गायक प्रेमध्वज प्रधान, २०६६ मा नेपाली गीतसङ्गीत जगतका अनन्त तारा भजन शिरोमणि भक्तराज आचार्य, २०६७ मा आधुनिक गायक तथा संगीतकार फत्तेमान राजभण्डारी, २०६८ मा प्रसिद्ध गायिका र नेपालकी पहिलो महिला संगीतकार शान्ति ठटाललाई समर्पण गरेको थियो ।
त्यस्तै २०६९ मा आधुनिक नेपाली गायक प्रकाश श्रेष्ठ, २०७० मा सदाबहार नेपाली गायक तथा संगीतकार दिप श्रेष्ठ, २०७१ सालमा वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल, २०७२ मा प्रसिद्ध गायिका तथा संगीतकार मीरा राणा, २०७३ मा गोपाल योञ्जनका दाजु दार्जिलिङका नेपाली बरिष्ठ संगीतकार कर्म योञ्जन, २०७४ मा नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार चेतन कार्की, २०७७ मा दार्जिलिङकी नेपाली गायिका दाबा ग्ल्याल्मो र २०७८ मा वरिष्ठ संगीतकार तथा गीतकार दीपक जङ्गमलाई प्रदान गरिएको थियो ।