हेटौंडा – मकवानपुरमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको छ । आर्थिक बर्ष २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा कमी आएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले जिल्लामा गत आर्थिक वर्षमा १ हजार ९८१ नयाँ उद्योग तथा व्यवसायका लागि अनुमति लिएको जनाएको छ । एक हजार २५२ वटा नयाँ उद्योग तथा ७२९ वटा नयाँ बाणिज्य व्यवसायिक फर्म दर्ता भएको कार्यालयले जनाएको छ । अघिल्लो आ.व.मा एक हजार ६९८ वटा उद्योग र ८०२ वटा बाणिज्य गरी दुई हजार ५०० नयाँ उद्योग दर्ता भएको थियो ।
कार्यालयले आठ प्रकारको उद्योग दर्ता गर्दै आइरहेकोमा गत आ.व.मा तीन प्रकारका मात्रै उद्योग दर्ता भएका छन् । उत्पादन मूलक १२०, कृषि तथा वन ८२४, सेवा मूलक ३०८ वटा नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका सबै साना उद्योग हुन् । नयाँ उद्योग दर्ताबाट १ करोड ३३ लाख ३३ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा थपिएका उद्योगहरुको कुल पुँजी २ अर्ब ५७ करोड १६ लाख ८५ हजार रहेको छ भने बार्षिक उत्पादन क्षमता ३ अर्ब ९२ करोड १२ लाख १७ हजार रहेको कार्यालयले जनाएको छ । गतआर्थिक बर्षमा ७५१ महिला र ७९९ पुरुष उद्यामी भएका छन् । थपिएका उद्योगमा महिला २ हजार ५८५ र पुरुष २ हजार २२ गरी ४ हजार ६०७ जनाले रोजगारीको अवसर पाएका छन् ।
जिल्लामा वाणिज्यतर्फ थपिएका व्यवसायिक फर्मको कुल पुँजी लगानी ४ अर्ब १८ करोड ३७ लाख भन्दा बढी रहेको छ । त्यस्तै गतआ.व.मा व्यवसाय नविकरण गर्ने ७२९, नाउसारी लिने ७९४, ठाउँसारी गर्ने ४४, उदेश्य थप गर्ने ७९, लागत कट्टा गर्ने १७५, सुविधा सिफारिस लिने ६ र प्रतिलिपि लिने १३७ वटा रहेका छन् । ५७९ वटा व्यवसायिक फर्मको पुँजिबृद्धि ३ अर्ब ७ करोड ६९ लाख भन्दाबढी छ । वाणिज्यतर्फ व्यवसाय दर्ता र अन्य कार्यबाट कुल २ करोड २९ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।