प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालमा डेंगुबाट ८ जनाको मृत्यु

२०८१ आश्विन २२, मंगलबार १८:१६ बजे

काठमाडौं – नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।


डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५७१ जनामा डेंगु सङ्क्रमित छन् ।


यसैगरी, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।