हेटौंडा – कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बाग्मती गाउँपालिका–६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेले ठेगाना भएकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा उनिहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरिएको प्रहरीेले जनाएको छ ।
दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडेगलेको अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनिहरुले कान्छा लामाको काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमती पुल नजिक “बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर” भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कुटपिट गरि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइवा तामाङ समेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेका थिए ।
हत्या पश्चात सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा फालेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।