प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकप: आर्मी फाइनलमा, उपाधिका लागि विजय युथसंग भिड्ने

२०७९ जेठ २८, शनिबार १४:४६ बजे

हेटौंडा – विभागीय टोली त्रिभुवन आर्मी क्बल रोमाञ्चक जित निकाल्दै चौथो स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली एभिनियर एफसीलाई पुनः पोनाल्टी सुटआउटमा ११–१० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातीमै आर्मीका दिनेश हेम्जनले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

तर, त्यो अग्रता खेलको अन्त्य सम्म टिक्न सकेन । एभिनियर एफसीका डिजिकाले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

निर्धारित ९० मिनेट खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा पनि ३–३ गोलको बराबरी भयो ।

त्यसपछि सडनडेथमा दुबै टोलीका ६–६ खेलाडी पेनाल्टी प्रहार गरेका थिए । सडनडेथमा पनि ८–८ गोलको बराबरी भएपछि खेलको छिनोफानो भएन ।ट्राईब्रेकरमा ५ र सडनडेथमा ६ गरी दुबै टोलीको ११–११ जना खेलाडीले पेनाल्टी प्रहार गरेका थिए । 

त्यसपछि खेलको निर्णय लिन खेलाडीहरुले पुनः दोहो¥याएर पेनाल्टी प्रहार गर्नु परेको थियो । पुनः पेनाल्टीमा आर्मीका दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापा गोल गरेका थिए । तर, एभिनियर एफसीका एक खेलाडी गोल गर्नबाट चुकेका थिए ।

पुनः पेनाल्टी सुट आउटमा आर्मी भाग्यमानी सावित हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विभिन्न चरणमा भएको पेनाल्टीमा दुबैबाट १४–१४ वटा प्रहार गरिएको थियो । जसमा आर्मी र एभिनियर एफसीका ३–३ खेलाडीले दोहो¥याएर पेनाल्टी प्रहार गरेका थिए ।

खेलको म्यानअफ द म्याच आर्मीका दिनेश घोषित भए । उनले नगद १० हजार हात पारे ।

साविक विजेता समेत रहेको आर्मीले उपाधीका लागि घरेलु टोली विजयी युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जेष्ठ ३० गते हुनेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना तथा १० स्थानीय तहको सहयोगमा भएको प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेता नगद १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले बुलेट बाइक हात पार्नेछ ।