प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभा सदस्य पाण्डे कानूनविपरीत प्रदेश सरकारको गाडीमा सरर...

२०७९ माघ २९, आईतबार ०६:०० बजे

हेटौंडा – प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म मात्रै सुविधा पाउनेछन्। तर प्रतिनिधिसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अझै प्रदेश सरकारको गाडी फिर्ता गरेका छैनन् ।

मुख्यमन्त्रीबाट राजीनामा दिएको दुई महिना वित्दा पनि पाण्डेले प्रदेश सरकारको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको महिन्द्रा स्कपिर्यो प्रयोग गरिरहेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जिन्सी शाखाका अनुसार पूर्वमुख्यमन्त्री पाण्डेले अझै उक्त गाडी फिर्ता गरेका छैनन् । पाण्डेले कानूनविपरीत प्रदेश सरकारकै गाडी प्रयोग गरिरहेका छन् ।

प्रतिनिधिसभामा शपथ लिएपछि पाण्डेले ८ पुस २०७९ मा  मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डे गत ४ मंसिर सम्पन्न निर्वाचनमा धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।