प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

मकवानपुरे फुटबलर ललित र अनिश संकटामा अनुबन्ध

२०७९ माघ १९, बिहीबार १९:०१ बजे

हेटौंडा – सहिद स्मारक ए डिभिजन क्लब संकटाले दुई जना मकवानपुरे फुटबलरलाई अनुबन्ध गरेको छ । संकटाले फरवार्ड ललित चौलागाई र फरवार्ड अनिश महर्जनलाई अनुबन्ध गरेको हो ।

नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि संकटाले चौलागाई र महर्जनलाई अनुबन्ध गरेको हो । संकटाले बिहीबार सामाजिक संजालबाट तीन खेलाडीलाई अनुबन्ध गरिएको जनाएको छ ।

उनीहरु घरेलु टोली मकवानपुर–११ बाट मोफसलका प्रतियोगिता खेल्दै आएका थिए । यसअघि बागमती गोल्डकपमा मकवानपुर–११ बाट चौलागाई र महर्जनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

चौलागाई र महर्जनकै गोलमा एडिभिजन टोली पुलिस क्लबविरुद्ध मकवानपुर–११ ले जित हात पार्दा सेमिफाइनलमा संकट क्लबसंग पराजित भएको थियो ।

 त्यस्तै गोलकिपर निशान रानालाई अनुबन्ध गरेको छ । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिको एडिभिजन लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । यस सिजनको एडिभिजन लिगको तयारी धमाधम भइरहेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।