हेटौंडा – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा माओवादीले र एसले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो ।
बैठकमा माओवादीले हेटौंडा सहित भरतपुर महानगरपालिका, धरान, जितपुर सिमरा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । त्यस्तै एसले हेटौंडासहित पोखरा महानगरपालिका, इटहरी र तुलसीपुर उपमहानगरपालिकामा दाबी गरेको छ । एसले बुटवल उपमहानगरपालिकामा पनि दाबी रहने भनेको छ ।
६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा छलफल चलिरहेको छ । बैठकमा माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ ।
बाँडफाँटको सहमति हुन सकेन
बैठकमा पाँच दलका नेताहरूले आ–आफ्नो दाबी पेस गरेर उठेपछि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको सहमति हुन सकेन । बैठकले आइतबार कुनै टुंगो लगाउन नसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।बालुवाटारमा गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।