हेटौंडा – नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर छनौट गर्न आज बैठक बस्दैछ । मेयर र उपमेयरको उमेदवार टुङ्गो लगाउन हेटौंडा उपमहानगरपालिका कमिटीको बैठक हेटौंडा–८ कमानेमा बस्न लागेको हो ।
आजको बैठकबाट मेयर र उपमेयरको उमेदवारको टुङ्गो सहमती, नभएमा मतदानको प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाउने नगरकमिटीका एक जना नेताले बताएका छन् ।
हेटौंडा उपमहानगरको मेयरमा सात र उपमेयरमा पाँच जना आकांक्षी रहेका छन् । मेयरको उमेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका बहालवाला मेयर हरि बहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, संबिधानसभाका सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरु मदन कुमार दाहाल र धुर्व प्रसाद चौलागाईले इच्छा व्यक्त गरेका छन् ।
यसैगरी उपमेयरमा सुमित्रा काफ्ले, सिता बिष्ठ, प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा ब्यक्त गरेका छन् ।
विं.सं.२०७४ मा भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरमा एमालेका मेयर हरिबहादुर महत २३ हजार १२४ मतसहित विजयी भएका थिए । उनले गठबन्धनका उम्मेद्वार कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतको अन्तरले पराजित गरेका थिए । पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए ।
उपमेयरमा एमालेकी उम्मेद्वार मीनाकुमारी लामाले चुनाव जितेकी थिइन् । उनले गठबन्धनका उम्मेद्वार माओवादीका बलराम बललाई ६ हजार ४२६ मतले पराजित गरेकी थिइन् । लामाले २३ हजार ४३७ र बलले १७ हजार ११ मत ल्याएका थिए ।
त्यस्तै हेटौंडा उपमहानगरको १९ वडामध्ये नेकपा एमाले १२, नेपाली कांग्रेस ५ र माओवादी केन्द्रले २ वडामा जितेको थियो ।