प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पशुपतिनाथ माविको भवन हस्तान्तरण

२०७९ बैशाख ५, सोमबार १२:०८ बजे

हेटौंडा – मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन सोमबार हस्तान्तरण गरिएको छ । २०७२ को बिनाशकारी भूकम्पका कारण क्षति पुगेको यो विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठाको भवन निर्माण गरिएको थियो ।

पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका तर्फबाट विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो । ईकाई प्रमुख गौतमले स्थानीय सरकारको रुपमा रहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई र पालिका अध्यक्ष उप्रेतीले विब्यस अध्यक्ष गौतमलाई हस्तान्तरण गरेका हुन् ।

Scl Handover (5)

कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पशुपतिनाथ माविले भौतिक पूर्बाधारमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । ईकाई प्रमुख गौतमले भूकम्प प्रतिरोधि भवन ३ करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताउँदै थप १३ वटा कक्षाकोठालाई पौने २ करोड रुपैयाँको लागतमा प्रबलिकरण गर्ने कार्य जारी रहेको जानकारी दिए ।

कार्यक्रममा वडाअध्यक्ष ध्रुब खड्काले बिगतमा छाप्रोमा संचालनमा आएको विद्यालयको भौतिक संरचनामा निकै सुधार आएको र आगामी दिनमा बालबालिका निर्भयका साथ अध्ययन गर्न पाउने बताए । विद्यालयका पूर्बप्रधानाध्यापक एबम् नेपाल सरकारका सेवानिबृत्त अधिकृत तीर्थराज पराजुलीले विद्यालयको बिगतको ईतिहासलाई बिर्सन नहुने कुरामा जोड दिंदै सबैले हातेमालो गरेर लक्षमा पुग्न सकिने बताए ।

Scl Handover (4)

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक ईश्वर रिजालले बिगतमा मन्रिको सत्तलमा कक्षा संचालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै विद्यालयको आगामी दिन उज्ज्वल रहेको बताए । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र माध्यमिक विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविमा करिब ५ सय बालबालिका अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेल, मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोतशिक्षक पूर्णभद्र भुषाल, समाजसेबी भरतपराजुली, विद्यालय ब्यवस्थापन समितिका पूर्बअध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुर्षोत्तम बिष्ट, शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न ईन्जिनियर मुकेश जैसवाल, सन्दिप बिष्टलगायतको सहभागिता रहेको थियो ।