हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले आगमी चैत्र २५ गतेसम्म स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारहरु टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्वन्धी कार्यतालिका निर्माण गरेको छ । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटिको बैठक चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ ।
वडा कमिटीको बैठकले वडा अध्यक्ष सहित सदस्यहरुको उम्मेद्वार तथा पालिका बैठकले अध्यक्ष तथा उपाध्यक्षको उम्मेद्वारहरु तय गर्ने र जिल्ला कमिटीलाई सिफारिस गर्नेछ ।
जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने छ ।बैठकले पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय गरेको एमाले मकवानपुरका सचिव नविन सिग्देलले बताए ।
३३ सदस्यीय सचिवालय
त्यस्तै नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले ३३ सदस्यीय सचिवालय निर्माण गरेको छ । १ सय ३२ जनाको जिल्ला कमिटिबाट ३३ सदस्यीय सचिवालय निर्माण भएको हो । सचिवालयमा जिल्ला पदाधिकारी सहित एक पटक भन्दा धेरै पटक जिल्ला सदस्य भैसकेको नेताहरुलाई समावेश गरिएको छ ।