प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विश्वकप फुटबल: दोस्रो सेमिफाइनलमा फ्रान्सविरुद्ध मोरक्को, कसले मार्ला बाजी ?

२०७९ मंसिर २८, बुधबार ०६:५० बजे

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार साविक च्याम्पियन फ्रान्स र अफ्रिकी राष्ट्र मोरक्को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

खेलमा दुवै देश विश्वकपको सेमिफाइनलमा एकअर्कालाई हराउने उद्देश्यसहित मैदानमा उत्रने छन्। विजेता टिमले अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

अल बायत स्टेडियममा हुने खेलमा साविक विजेता फ्रान्स सातौँ पटक विश्वकप सेमिफाइनलको खेलमा प्रतिस्पर्धा गर्दैछ। फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइल खेलेको थियो। त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनिसकेको थियो।

मोरक्कोले भने विश्वकपमा क्वाटरफाइनल पुगेबाटै नयाँ इतिहास बनाउन सुरु गरिसकेको छ। मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्दै नयाँ इतिहास बनाएको छ। अब मोरक्को फाइनल पुगेर अर्को कीर्तिमान बनाउन चाहन्छ।

मोरक्को अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल टिम हो। मोरक्कोले समूह चरणमा क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियम र क्यानडालाई हराउँदै प्रिक्वाटरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा तथा क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो।

मोरक्कोले आफ्नो विश्वकप अपराजित दौडलाई ६ खेलसम्म पुर्‍याउँदै नयाँ कीर्तिमान समेत बनाएको छ। फ्रान्स र मोरक्कोबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा ७ खेल फ्रान्सले जितेको छ । मोरक्कोले १ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ । विश्वकपमा भने यी टिमबीच पहिलो प्रतिस्पर्धा हो।  यी दुई टोलीले पछिल्लो पटक सन् २००७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा खेल २–२ गोलको बराबरी भएको थियो। 

सम्भावित सुरुआती-११

फ्रान्स - ह्युगो लोरिस, जुल्स कुन्डे, राफेल भाराने, डेओट उपमेकानो, थियो हर्नान्डेज, अरुलिन चुवामेनी, एड्रिन राबीओट, उस्माने डेम्बेले, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जेरुड

मोरक्को - यासिन बोनोउ, आच्रफ हाकिमी, जावाद एल यामिक, रोमैन सैस, याह्या अत्टियट अल्लाह, एजेदिन ओनाही, सोफयान अम्राबत, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल