प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडामा कम्पनी नै खोलेर ‘अनलाइन जुवा’ खेती, मुख्य नाइके फरार

२०७९ असार १४, मंगलबार १३:१९ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन जुवा खेलमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार हेटौंडा उपमहागनरपालिका वडा नं. ४ कमलडाँडाबाट पक्राउ परेका ११ जनालाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।   

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ बर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडा बस्ने २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौंडा–१४ बस्ने २३ वर्षीय निमा थिङ, हेटौंडा–१२ बस्ने २३ वर्षीय विकाश बल, मनहरी गाउँपालिका–४ बस्ने २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, सोही नगरपालिका–९ बस्ने २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, २५ वर्षीय अमोश तामाङ र बारा निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्का रहेका छन् । 

उनीहरुलाई हेटौंडा–४ कमलडाँडास्थित एक घरमा संचालनमा रहेको सुर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडमा पैसा हारजित हुने गरी अनलाईन जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उक्त स्थानबाट जुवा खेलाउन प्रयोग हुने ११० थान मोवाइल, ५ थान कम्प्युटर, ३ थान ल्यापटप, राउटर ४ थान सहित नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रवक्ता कार्कीले बताए । 

मुख्य नाइके फरार

अबैध अनलाइन जुवा खेल्ने समुहलाई पक्राउ गर्न सफल भएपनि प्रहरीले मुख्य नाइके भने नियन्त्रणमा लिन सकेन ।  प्रहरी स्रोतका अनुसार समुह(गिरोह्र)का मुख्य नाइके कुलदीप पाठक भने फरार रहेका छन् ।  हेटौंडा–४ निवासी पाठकले अनलाइन जुवा खेलाउन कोठा भाडामा लिएको प्रहरी स्रोतको दावी छ । सोही कोठाबाट अनलाइन जुवा खेल्न खेलाउन प्रयोग हुने इलोक्ट्रोनिक्स डिभाइस, नगद र ११ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको हो । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनी नै खोलेर अनलाइन जुवा 

नेपालको कानुनले अनलाईन जुवालाई प्रतिबन्धनै गरेको छ, यो सर्वविबितै छ । तर उनीहरुले हेटौंडा–४ स्थित राजकुमार (नाम परिवान) को घरमा कोठा भाडामा लिएर कम्पनीकै नाम दिएर अनलाइन जुवा  खेलाएका छन् । उनिहरुले सुर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडको नाम दिएर सोहीभित्र अनलाइन जुवा खेलाएका हुन् । कुनै पनि ब्यक्तीले आफुले सञ्चालन गरेको ब्यवसाय तथा संघसंस्थाको परिचय खुल्ने प्रमाणपत्र राख्नु पर्ने कानुनी ब्यवस्था छ, तर उक्त कम्पनी को ? कसको ? नाम रहेको कुनै कागजपत्र फेला नपरेको प्रवक्ता कार्कीले बताए । 

के हुन्छ कानुनी कारवाही ?

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर, दफा १२५ को ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसुर अन्तर्गत प्रहरीले अनुसन्धान अगाडी बढाउँछ । जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अन्र्तगत उपदफा(१)को (क) बमोजिम पहिलो पटक खेल्ने खेलाउनेलाई तीन महिना कैद र तीस हजार रुपैयाँ जरिवाना हुनेछ । त्यस्तै दोस्रो पटक जुवा खेल्ने खेलाउनेलाई एक बर्ष कैद र पचास हजार जरिवानाको सजाय हुनेछ भने त्यसपछि पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।