हेटौंडा – जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो ।
शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५ मिटर पानीको सतह थियो ।
दामन, पालुङ, चित्लाङ,मार्खु,फाखेल,वज्रवराहीलगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले २४ सै घन्टामा जलाशयको सतह साढे ८ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत् केन्दका प्रमुख तारादत्त भट्टले भने,‘शनिबार दिउँसो प्रतिघन्टा ३०,३५ सेन्टिमिटर पानीको सतह बढेको थियो ।’
आइतबार जलाधार क्षेत्रमा वर्षा नभएकाले जलाशयमा प्रतिघन्टा १० सेन्टिमिटर पानीको सतह वढेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशयको सतह यो वर्ष १ हजार ४ सय ८३ दशमलव ८६ सेन्टिमिटरसम्म झरेको थियो । सुख्खायाममा दैनिक झण्डै एक मिटर नै पानीको सतह घट्ने गरी कुलेखानी सञ्चालन गरिएको थियो ।कान्तिपुरबाट