हेटौंडा – सरकारी वा निजी निकाय आफ्नो मनमौजी तरिकाले चल्न पाउँदैन । तर, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो मनमौजी गरेको पाइएको छ । बोर्डका कर्मचारी बिना जानकारी खानेपानी काट्ने र धारा मर्मत भनेर पटक–पटक अनावश्यक रुपमा रकम असुली गरेको पाइएको हो ।
यो कुरा आज भन्दा पाँच दिन अगाडीको हो । हेटौंडा उपमहानगरपालिका–२ संगमचोकस्थित ग्राहक नम्बर ०८६१३ को धारामा पानी आएन । खानेपानी लाईन कतै बिग्रियो होला, पानीआउँला नी भन्दै ग्राहक बसिरहे । आज आउँला, भोली आउँला भनेर कुरेर बस्यो दुई दिन बित्दा समेत धारामा पानी आएन ।
ती ग्राहकले तेस्रो दिनमा हेटौंडा खानेपानी बोर्डमा जानकारी गराइन् । त्यसपछि बोर्डको कर्मचारी निरीक्षणको लागि आए । ती कर्मचारी पैसा तिरेर आउँनुस् गेट भल्भ फेर्नुपर्छ, भने । उनले मर्मतको लागि २१० शुल्क तिरिन् । अनि गेट भल्भ पनि फेरिन् । तर, धारामा पानी आएन ।
बोर्डका कर्मचारीले दोस्रो पटक २१० रुपैयाँ शुल्क तिर्न लगाएर पानीको जडान प्यानल खोलेर हेर्दा ती ग्राहकको धाराको पानी काटिएको रहेछ । कुरा बुझ्दा बोर्डकै कर्मचारीले धारामा पानी काटेको पाईयो । बोर्डले पुनः धारा जडान बापत थप ४१० शुल्क लियो । तर, धारामा पानी काटेको बारे बोर्डका कर्मचारीले जानकारी नदिएको ग्राहक बताउँछन् ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सुचना अधिकारी संजय कुमार न्यौपाने कुनै सेवाग्राहीको खानेपानी धारामा पानी काट्नु अघि जानकारी दिनुपर्ने बताउँछन् । उता बोर्डकै खानेपानी वितरण शाखाका विष्णु प्रसाद सापकोटाले धारामा पानी काटिएको उपभोक्तालाई जानकारी दिन सम्भब नहुने बताए ।
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत वितरण गरिएको खानेपानी धाराका प्रयोगकर्ताहरुलाई न्युनतम् शुल्क तिर्नु नपर्ने गरी मोटो रकम खर्च गरेको छ । तर, खानेपानीमा उपमहानगरले करोडौँ रकम खर्च गर्दैगर्दा बोर्डले गरेको ज्यादतीको बिषयमा मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ लगायत जनप्रतिनिधिमाथि गम्भीर प्रश्न चिह्न उठेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट हुन् ।