हेटौंडा – हेटौंडा उपमहानरपालिका वडा नं.१० स्थित सिमाचोकबाट टिसिएन रोड निस्कने सडकको किनारमा रेलिङे्ग राख्ने कार्य नगर्न, नगराउन उच्च अदालत पाटन, हेटौंडा इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीस मिना गौतम सेडाईको एक्कल एजलासले शुक्रबार जेष्ठ २३ गतेसम्म निवदेकहरुको जग्गा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ्ग लगाउने कार्य नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरी गरेको हो ।
गत मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नं.१० ले सो सडकको किनारमा रेलिङ्ग राख्ने काम सुरु गरेपछि स्थानीय र व्यवसायीहरुले आफ्नो व्यवसायमा असर पुग्ने भन्दै विरोध जनाएका थिए । साथै रेलिङ्ग राख्दा आफ्नो घरमा प्रवेश गर्न समेत अवरोध हुने भन्दै सडकमा उत्रिएका थिए ।
विरोध हुँदा हुँदै पनि वडाकार्यालय दलबल प्रयोग गरेर काम अगाडी बढाएपछि स्थानीयहरुले बिहीबार उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरेका थिए । यस विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा स्थानीय तह, स्थानीय प्रशासन, स्थानीयहरुबीच छलफल भएको थियो ।
छलफलबाट कुनै निष्र्कष नस्किएको स्रोतको दाबी छ । जनप्रतिनिधीहरु कुनै पनि हालतमा सडकको किनारमा रेलिङ हाल्ने पक्षमा देखिएका छन् । उता स्थानीयहरु रेलिङ हाल्न नदिने पक्षमा छन् । यसले सो सडक क्षेत्रमा तनावको स्थीति श्रृजना हुने देखिन्छ ।